News

मालिक म-रे पछि कुकुर मलामी गयो चिता माथी वसेर रोयो कस्ताे माया (भिडियो सहित)

नेपाली समाजमा एउटा मान्यता छ, ‘आफन्तले साथ छाड्छ तर कुकुरले छाड्दैन ।’ मालिकलाई बचाउन आफ्नो ज्यान नै दिएका दृष्टान्तहरुले पनि यो बफादार प्राणीको गुनगान गाएर कहिल्यै थाक्दैन, हाम्रो समाज ।भर्खरैको एउटा घटनाले यसलाई थप पुष्टि गरेको छ । घटना कैलालीको लम्कीचुहा नगरपालिका–५ को हो । त्यहाँका चुकुलाल चौधरीले आठ वर्षअघि एउटा बेवारिसे कुकुरको छाउरो घरमा ल्याएका थिए । उनले कुकुरको नाम राखिदिए, सफी । सफीलाई उनकै आमा हैरानी चौधरीले स्याहारसुसार गरेर हुर्काइन् ।

कुकुरसँग उनको सम्बन्ध आफ्ना सन्तानजस्तै प्रगाढ बन्यो । चौधरीले आफ्नै कोखका बालबच्चा झैं सफीलाई माया दिए । उनीहरु सँगै बस्ने, खाने गर्थे । हैरानी चौधरीले जता गए पनि कुकुरलाई छाड्दैन थिई । तर भदौ २५ गते शनिबार हैरानी चौधरीको क्यान्सरले निधन भयो ।जसै हैरानी चौधरीको शव घरमा राखियो, सफीले उनको साथ छाडेन । सामान्यतः मृत्यु संस्कारमा कुकुर–बिरालोलाई शव छुन दिइँदैन । हैरानीको शवको छेउछाउ आएपछि मलामीका लागि आएका छिमेकीले उनलाई धपाउन थाले ।

परम्परा अनुसार चौधरीको शवलाई उनी सुतेकै पलङमा राख्ने तयारी भयो । तर शव राख्नुअघि नै उक्त कुकुर पलङमा बसिदियो । छिमेकीले कुकुरलाई त्यहाँबाट पनि लखेट्न खोजे । कुकुर कसैगरी पनि त्यहाँबाट भागेन । आखिरमा कुकुरलाई समातेर नजिकैको रुखमा साङ्लोले बाँधियो ।

रुखमा बाँधेपछि झन् उग्र भयो । साङ्ला नै चुडाउँला झैं गरेर कराउन थाल्यो,’ हैरानी चौधरीका कान्छो छोरा अनन्तलाल भन्छन्, ‘पलङमा राखेर गरिने संस्कार सकेर शवलाई ट्याक्टरमा चढाइयो । अनि घाटतिर लाग्यौं । तर केही पर नपुग्दै कुकुर साङ्लाबाट फुत्किएर दौडिंदै हामीलाई पछ्याउन थाल्यो ।’

ट्याक्टर पछ्याउँदै सफी करिब पाँच किलोमिटरसम्म दौडिरह्यो । मुख्य सडकमा अरु गाडी पनि कुदिरहेको थियो । तर सफीले सोही ट्रकलाई मात्र एकोहोरो पछ्याइरह्यो ।तराईको चर्को गर्मी । त्यतिका समय कुकुर दौडिएको दौडिएकै छ । कुनै मलामीले कुकुरलाई पनि ट्याक्टरमै राख्न भने । ट्याक्टरमा चढाएपछि उक्त कुकुर हैरानी चौधरीकै शवको छेउमा बसिरह्यो ।

‘बेलाबेला शवलाई सुँघेर क्याउँक्याउँ गर्दै कराउँथ्यो,’ अनन्तलाल भन्छन्, ‘हामीलाई भन्दा बढी पीर त उसलाई परेको जस्तो देखिन्थ्यो ।’कर्णालीको घाटमा पुर्‍याएपछि चिता तयार गरियो । शवलाई चितामा राखियो । तर कुकुर पनि चितामा चढ्यो र शवसँगै लमतन्न परेर बसिरह्यो । कुकुरलाई हटाउँदा चिता भत्कियो । दाउराले कुकुरलाई चोट लाग्यो । तर ऊ पछि हटेन । ‘चितामा बसेपछि मलामी पनि भावुक भए,’ अनन्तलाल सुनाउँछन्, ‘शव जलाउन समस्या भएपछि उसलाई समातेर राख्यौं ।’

शव जलिसकेपछि पनि कुकुर चिता वरिपरि घुमिरहेको थियो । सफी नामको उक्त कुकुरले शवको पछि लागेको र चितामा बसेको भिडियो टिकटकमा अहिले भाइरल भएको छ । उक्त कुकुरले दर्शाएको प्रेमप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।कतिले टिकटक बनाउनका लागि पो कुकुरलाई सुताएर यस्तो भिडियो खिचेको हो कि भनेर शंका गरेका छन् । यद्यपि हैरानी चौधरीका छोरा अनन्तलाल भने यो कुनै नाटकीय घटना नभई कुकुरले वास्तवमै शवलाई पछ्याएको र चितामा बसेको बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email