जब रिमा बिश्वकर्माले होस्टेलको दसैं सम्झिदै भनिन “होस्टेलमा कक्षाअनुसार दक्षिणा पनि बढ्दै जान्थ्यो

दशैं भन्नासाथ बाल्यकालमा बसेको होस्टेलको सम्झना ताजा भएर आउँछ । बर्दिया घरबाट टाढा एक्लै होस्टलमा बसेर म पढ्थें । एक हिसाबले होस्टेलमै हुर्किएँ भन्दा पनि हुन्छ ।
दशैं आउँथ्यो, होस्टेलका प्रायः सबै साथी घर जान्थे । मेरो भने घर टाढा । लिन आउन र पुर्याउन पनि सहज थिएन, फेरि अहिलेजस्तो यातायातको पहुँच पनि थिएन । त्यसैले कौसीबाट साथीहरुलाई बिदा गर्दैगर्दा मलाई नरमाइलो अनुभूति हुन्थ्यो ।
सोच्थें, म पनि घर गएको भए कति रमाइलो हुन्थ्यो भनेर । होस्टेल मेरो दोस्रो घरजस्तै थियो । त्यहाँका शिक्षक-शिक्षिका मेरा अभिभावक । कक्षामा हुँदा दशैंको नौ दिनसम्म के कस्ता पूजा हुन्छ भनेर पढाइ हुन्थ्यो । तिनै कुरालाई व्यवहारमा उतार्न शिक्षक-शिक्षिकाले मद्दत गर्नुहुन्थ्यो । हामीलाई दशैंको घटस्थापनाको दिन आफैं जमरा राख्न लगाइन्थ्यो । बालुवा राख्ने, साँझपख पानी हाल्न लगाउने, पूजा गर्ने तरिका सिकाउने गरिन्थ्यो । यसबाट दशैंको महत्व नजिकबाट बुझ्न पाइन्थ्यो ।
घर जान सहज नभए पनि होस्टेलमा बिताएको दशैंको मीठो सम्झना छ । लुगा महिनैपिच्छे किनिदिने भएकाले नयाँ लुगाभन्दा दशैंमा हातमा कति दक्षिणा पाइएला भन्ने कुराले रोमाञ्चित हुन्थें । होस्टेलमा रहेका हामीले कक्षाअनुसार दक्षिणा पाउँथ्यौं, दक्षिणा कति आउँछ भन्ने पहिले नै थाहा हुन्थ्यो । अलिअलि गर्दा पनि हजार-पन्ध्र सय पाउँदा खुसी हुन्थ्यौं । कक्षा अनुसार दक्षिणाको दर पनि बढ्ने भएकाले कक्षा चढ्दै जाँदा उत्साहित हुन्थें ।
म बच्चैदेखि बोलिहाल्ने, हरेक कार्यक्रममा सहभागी हुने हँसिलो र चुलबुल स्वभावकी थिएँ । कसैले पाँच रुपैयाँ दिएर नाच भन्ने बित्तिकै नाचिहाल्ने खालको थिएँ । दशैंजस्ता धेरै कार्यक्रममा सहभागी भएर पुरस्कार पनि पाउने गर्थें ।
दशैंमा होस्टेलमा मासु नै मासुका परिकार पाकेको, मिलिजुली पकाउन लगाएको, पिङ खेल्न शिक्षकहरुले चोक-चोक लगेको सम्झना अझै मानसपटलमा छ । एकपटकको दशैंमा विदेशी विद्यार्थी आएका थिए । जति सक्छौ त्यति चकलेट लिऊ भनेपछि दुईवटा हातले अटाईनअटाई चल्केट सोरेको मेरो लागि बिर्सिन नसक्ने पल हो ।