नेपाल आउँदैछु भनेर आइतबारै हिँडेका सन्दीप कहाँ छन्?

काठमाडौं- नाबालिग बलात्कार आरोपमा प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर सन्दीप लामिछाने आइतबारयता सम्पर्कविहीन छन्। आइतबार नै आफू नेपाल आउन लागेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई जानकारी दिएका उनी नेपाल आइपुगेका छैनन्। उनी कहाँ छन्? यसबारे न त प्रहरीलाई केही जानकारी छ, न त क्यानसँग नै उनी सम्पर्कमा छन्।
सन्दीप भदौ ६ गते केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसिया पुगेका थिए। टी–ट्वान्टी सिरिज खेलेर उनी सेन्ट लुसिया पुगेका हुन्। नेपाली टोली केन्यामा एकदिवशीय क्रिकेट (ओडीआई) खेलिरहेका बेला यता गत भदौ २१ गते १७ वर्षीय एक किशोरीले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी दिइन्।
उजुरीअनुसार केन्या जानु अघिल्लो दिन बेलुका कफी पिउने बोलाएर ती किशोरीलाई सन्दीपले नगरकोट पुर्याएका थिए। स्न्यापच्याटमार्फत एक महिनाअघि मात्र चिनजान भएकी उनलाई सन्दीपले नगरकोटमै बस्न प्रस्ताव गरे पनि किशोरीले जसैगरी काठमाडौं फर्किने अडान लिएकी थिइन्। किशोरीको जिद्दीपछि उनीहरु रातको करिब ११ बजे काठमाडौं फर्किए। होस्टेल बन्द भइसकेकाले होटलमा बस्नुपर्ने बाध्यता आयो। तर होटलमा दुईटा कोठा नभएको भन्दै एउटा कोठामात्र बुक गरे सन्दीपले। मादक पदार्थ सेवन गराई लठ्याएर सो रात सन्दीपले आफूलाई पटकपटक बलात्कार गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।
नेपाल समय
किशोरीको उजुरीपछि प्रहरीले प्रमाण संकलन तथा बयान लिने काम सुरु गर्यो। गएको बिहीबार जिल्ला अदालत काठमाडौंबाट प्रहरी पक्राउ पूर्जी लियो। अदालतले पक्राउ गर्न आदेश दिएपछि क्यानले सोही दिन उनलाई क्याप्टेनबाट निलम्बन गर्यो। निलम्बनमा परेपछि सन्दीपले सेन्ट लुसियामा प्रिमियर लिग खेलेनन्।
सन्दीप नेपाल फर्किने सूचना पाएको प्रहरी चनाखो भएको छ। अध्यागमन विभागमा पत्राचार गरी उनलाई प्रहरीले कालोसूचीमा राख्न लगाएको छ। विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ।
शुक्रबार उनले सामाजिक सञ्जालमा आफू निर्दोष भएको र नेपालको कानुनमा आफू विश्वस्त भएको भन्दै केही दिनमै नेपाल फर्किने बताए। ‘म निर्दोष छु र नेपालको सम्मानीय कानुनमा पूर्ण विश्वस्त छु,’ उनले लेखेका छन्, ‘मैले सीपीएल नखेल्ने निर्णय लिएको छु र केही दिनमा स्वदेश फर्किन्छु।’ आफूमाथि आधारहीन आरोप लागेको भन्दै उनले आफू सबै आरोप सामना गर्न तयार रहेको बताएका छन्।
तथापि, उनीविरुद्ध उजुरी परेको एक साता भइसक्दा पनि उनी नेपाल फर्किएका छैनन्। क्यानका अनुसार उनी आइतबार स्वदेश फर्किने भनी हिँडेका थिए। ‘आइतबार उनले नेपाल फर्किंदै गरेको र आफू एयरपोर्टमा भएको बताएका थिए, त्यसयता उनीसँग सम्पर्क भएको छैन,’ क्यानका सचिव प्रशान्तविक्रम मल्लले नेपाल समयलाई बताए। उनले भने, ‘अहिलेसम्म नेपाल आइपुगि सक्नुपर्ने हो।’
नेपाल समय
यता, सन्दीप नेपाल फर्किने सूचना पाएको प्रहरी चनाखो भएको छ। अध्यागमन विभागमा पत्राचार गरी उनलाई प्रहरीले कालोसूचीमा राख्न लगाएको छ। विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। ‘आफैं नेपाल आउने भनेपछि हामीले इन्टरपोलको प्रक्रिया अघि बढाएका छैनौँ, उनी जुनसुकै स्थानबाट नेपाल फर्किन सक्ने भएकाले सबै जिल्लामा अलर्ट रहन पत्राचार गरेका छौं,’ काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले बताए। यद्यपि, पछिल्लो समय सन्दीप कहाँ छन् भन्ने आफूहरुलाई जानकारी भने नभएको उनको भनाइ छ।
क्यारेबियादेखि नेपाल फर्किन ३ देखि ४ वटा ट्रान्जिट पर्ने भएकाले आज मंगलबारसम्ममा सन्दीप नेपाल आइपुग्ने विश्वास प्रहरीको छ। आइतबार नै हिँडेको भए सम्भवतः उनी आजै नेपाल आइपुग्नेछन्। ‘उनी आफैंले अनुसन्धानमा सहयोग गर्नेगरी फर्किन्छु भनेपछि इन्टरपोलको सहयोग लिएका छैनौं,’ परिसरका एसएसपी बोहराले भने, ‘नेपाल नफर्किए केही दिनमै इन्टरपोलको प्रक्रिया सुरु गर्छौं।’