News

छोडिसकेको लोग्नेसँग अहिले पनि भेटघाट!

श्रीमानको स्वर्गबासपछि नतालिया एक्लै बस्दैछिन्। दस वर्षअघि श्रीमान गुमाएकी ७२ वर्षीया नतालियाको काँध थोरै झुक्न थालेको भए पनि अनुहार भने झर्झराउँदो छ।

यो उमेरमा पनि उनी आफ्ना लागि गर्नुपर्ने प्राय:जसो कामहरू आफैं गर्दै आइरहेकी छन्।

केटाको जस्तो कपाल काटेकी, गोरो अनुहार भएकी उनको नाकमा अक्सिजनको पाइप जोडिएको छ। कृत्रिम अक्सिजनको सहारामा बाँचिरहेकी उनी अक्सिजनको पाइप लामो भएका कारण घरभित्रका सबै कोठामा पुग्न सक्छिन्।

नतालिया यो उमेरमा पनि सिंगो घरमा एक्लै कसरी बाँचिरहेकी छन् भन्ने कुरा म उनको घरमा काम गर्न गएपछि थाहा पाएँ।

उनी नि:सन्तान भएर एक्लै बसेकी नभई आफ्नै रहरले बसेकी रहिछन्। उनका चार छोरीमध्ये एक छोरी अस्ट्रेलियामा र तीन छोरीहरू उनी बसेकै सहरमा भएकाले उनलाई आवश्यक पर्दा बजार लैजान, ल्याउन सहयोग गर्दै आएका छन्। त्यसरी नै हप्तामा दुई दिन छोरी आएर उनलाई नुहाउन सघाउँछन्।

उनलाई सघाउन छोरीहरूले पालो मिलाएका छन्।

एकदिन केहीबेरको भलाकुसारीपछि उनको दैनिकी विस्तृत रूपमा सुनाउँदै भनिन्, ‘हिजो माइली छोरीको पालो थियो। दश बजे आएर मेरो पहिलाको लोग्ने र मलाई मेरै गाडीमा राखेर स्टोरमा छोडिदिइन्। हामीहरूले आफ्ना लागि चाहिने सामान किन्यौं। सामान किनिसकेर कफी खाएपछि छोरीलाई फोन गरेँ। छोरीले पहिला उसको सौतेनी बाबुलाई सामानसहित ढोकामा पुर्‍याइदिइन्। अनि मेरा सामानलाई घरभित्र राखिदिएर आफ्नो काममा गइन्। मैले आफ्नो सामान बिस्तारै मिलाएर राखेँ। धेरै सामान भएकाले अलिक बढी नै गलेँ। आज त उठ्ने बेलामा अलिक गाह्रो भयो।’

उनको दैनिकी सुनिसकेपछि सामान राख्न छोरीले किन नसघाएकी होला भन्ने लागेर मैले सोधेँ, ‘सामान राखिदिन छोरीलाई किन नभनेको त?’

उनले आफूले गरिरहेका कामलाई सहज रूपमा लिँदै भनिन्, ‘मेरो सामान, मलाई पो थाहा हुन्छ त कहाँ राख्ने? कुन सामानलाई कहाँ राख्ने र पहिला कुन खाने भन्रे मेरो इच्छा उसलाई कसरी थाहा हुन्छ? ऊ त कहिलेकाहीँ मैले काम परेर बोलाउँदा मात्र आउँछे। मेरो सामान राख्ने ठाउँ उसलाई कसरी थाहा होस्। बिचरा! उसको पनि त काम छ, घर छ, छोराछोरी छन्, मैले पनि त बुझ्नुपर्छ। मलाई चाहिनेभन्दा बढी उसको समय किन लिनुपर्‍यो। अनि अझै त म आफ्नो काम गर्न सकिरहेकै छु।’

छोरी हुँदाहुँदै यत्रो काम एक्लै किन गरेकी होलिन्? बिचरा बुढाबुढी मान्छे भन्ने भावनाले प्रेरित भएर सोधिएको मेरो प्रश्नको उत्तर उनका कुराले प्रष्ट रूपमा दिए।

एक्लै बस्दै आएकी उनका लागि त्यो काम आफ्नै जिम्मेवारी र स्वाभिमानको विषय रहेछ भन्ने बुझ्न गाह्रो भएन।

आफ्नै छोरीको किन नहोस् आफूलाई चाहिनेभन्दा बढी समय खर्च नगर्ने उनको व्यवहार प्रशंसायोग्य लाग्यो।

सकुन्जेल आफ्नो काम आफैं गर्नुपर्छ भन्ने उनको स्वाभिमानी कुरा सुनेर म अत्यन्त खुसी भएँ।

आफ्नो भूतपूर्व लोग्नेसँग सँगै बसेर कफी खानु, गफ गर्नु, सपिङ जानु जस्ता विषय म हुर्केको परिवेशमा भन्दा नितान्त फरक थिए।

पुरानो लोग्नेलाई भेट्दैछन् र सँगै सपिङ जाँदैछन् भन्ने विषय मेरा लागि अत्यन्तै रोचक र अनौठो हुनपुग्यो। त्यसैले पूर्व लोग्नेसँगको उनको सम्बन्धलाई लिएर मैले उनलाई सोधेँ, ‘तिमी अझैसम्म पनि छोडिसकेको लोग्नेसँग भेटघाट, बोलचाल गरिरहेकी छौ? हाम्रोतिर त्यस्तो हुँदैन।’

मैले सबै कुरा पूरा भनी नसक्दै उनले भनिन्, ‘किन भेट्न, बोल्न मिल्दैन र? आखिर हामी दस वर्षसँगै बसिसकेका हौं। एकले अर्कालाई राम्ररी चिनेका छौं। एकअर्काको सहमतिमा नै छुट्टै बस्ने निर्णय गरेका थियौं। मैले ऊ भन्दा मनपरेको अर्को केटा पाएँ अनि विवाह गरेँ। उनको पनि केटी साथी थिइन् तर छोराछोरी भने भएनन्।

करिब पाँच वर्षअगाडि केटी साथी बितेपछि उनी एक्लै भएका छन्। त्यसपछि मैले छोरीहरूलाई उनलाई सहयोग चाहिएको कुरा गरेँ। छोरीहरूले आमा तिमी चाहन्छौ भने हामी सहायता गर्न सक्छौं भनेपछि अहिले हामी सँगै स्टोर जाने गरेका छौं। त्यसका अतिरिक्त हामी कहिलेकाहीँ महलतिर पनि जान्छौं। दिनभरि त्यस्तै घुमेर फर्कन्छौं।

गत वर्ष उनले मलाई फोन गरेर ‘भोलि मसँग फिल्म हेर्न जान सक्छौ? तिम्रो बर्थडेको उपलक्ष्यमा उतै दिउँसोको खाना पनि खाउँला’ भनेर सोधेका थिए।’

उनले सहज रूपमा सुनाइरहेका कुराहरूले मलाई भने आफू हुर्किएको ठाउँ, संस्कार र परिवेशको याद ताजा गराइरहेको थियो। ती संवादहरूले हामी बीचको सांस्कारिक भिन्नता प्रष्ट पारिरहेको थियो। उनीसँगको भेट र कुराकानीका प्रत्येक दिन मेरा लागि जिज्ञासापूर्ण हुने गर्थे।

अर्को एकदिन उनले टेबलमा भएका धेरै उपहारका सामानहरू देखाउँदै मलाई भनिन्, ‘यी सबै मेरा छोरी र नातिनातिनाका लागि क्रिसमसका उपहार हुन्। अब त क्रिसमस आउन पनि त दुई हप्ता मात्र बाँकी छ होइन र? मेरा अस्ट्रेलियामा भएका छोरी र नातिका लागि अस्ति नै उपहार पठाइसके। अर्को हप्तामा उनीहरूले पनि मैले पठाएका उपहारहरू पाउँछन्।’

उनलाई हरपल अक्सिजन चाहिन्छ। यी सबै सामान आफैं बजार गएर रोजेर किनेकी हुन् भन्ने जानेर मैले आश्चर्य मान्दै सोधेँ, ‘यत्रो सामान किन्न त धेरै समय लाग्यो होला? यति लामो अक्सिजनको पाइप लगाएर बजार घुम्न कसरी सम्भव भयो?’

उनले हाँस्दै भनिन्, ‘ए मैले तिमीलाई भन्न बिर्सिएकी, बाहिर जाँदा प्रयोग गर्ने सानो अक्सिजन छ। त्यही लगाउँछु। ६ घन्टासम्म पुग्छ। यी सामान मैले दुईचोटि गरेर ल्याएकी।’

आँखाअगाडि रहेका त्यतिधेरै सामान देखेपछि र नातिनातिना पनि रहेछन् भन्ने थाहा भएपछि मैले आफू हुर्किएको समाजको परिवेशलाई सम्झेँ।

आफ्नो देशको संस्कारलाई सम्झेँ।

यसरी बुढाबुढीहरू आफ्नो घरमा एक्लै नबस्ने। कोही बुढाबुढीहरू एक्लै बसेका छन् भने पनि नातिनातिना उनीहरूको साथी बसी दिने। हजुरबा हजुरआमालाई साथी हुन्छ भनेर प्रायजसो बाबुआमाले आफ्ना नानीहरूलाई बाबुआमाको साथै राखी दिने गरेका छन्। त्यसैले मेरो मनमा उनका नातिनातिना कति जना होलान् भन्ने प्रश्न उब्जियो र उनलाई सोधिहाले ‘तिम्रा कति जना नातिनातिना छन्?’

उनले भनिन्,’मेरा चार छोरी पट्टिका १२ जना नातिनातिना छन्। मेरो एउटा छोरो थियो। ३५ वर्षको उमेरमा क्यान्सरले गर्दा बित्यो। ब्लड क्यान्सर अन्तिम स्टेजमा मात्र देखापर्यो बचाउन सकिएन। हेर त! त्यो टेबलमाथि फ्रेममा भएको फोटो उसैको हो।’

फोटो हेरेर उनी टोलाउन लागेपछि मैले उनको छोराको कलिलो उमेरमा भएको मृत्युमा सहानुभूति प्रकट गरें।

कुराकानीका सिलसिलामा मैले उनीसँग प्रश्न गरेँ, ‘यति धेरै नातिनातिना रहेछन्। साथी पनि हुने एउटालाई आफूसँग राख्न मिल्दैन?’

मेरो जिज्ञासालाई साम्य पार्दै उनले विस्तारै तर जोशका साथ भनिन्, ‘पहिलो कुरा, मलाई एक्लै स्वतन्त्र भएर बस्न मनपर्छ। मैले भन्दा छोरीले आफ्ना नानीहरू मसँग बस्न पक्कै पठाउँछन् तर तिनका नानीहरू तिनको जिम्मेवारी हो। मैले जसरी उनीहरूलाई हुर्काएँ, पढ्ने वातावरण मिलाइदिएँ र अहिले उनीहरू सक्षम छन्। त्यसरी नै उनीहरूले पनि आफ्ना नानीहरूलाई आफैंले हुर्काउनु पर्छ।

दोस्रो, आफ्ना आमाबाबुसँग बस्न पाउने नानीहरूको जन्मसिद्ध अधिकार हो। म उनीहरूको त्यो अधिकार खोस्न चाहन्नँ। मैले आफ्नो स्वार्थका लागि उनीहरूको अधिकार किन खोस्नु? म उनीहरूलाई पारिवारिक जमघटमा कहिलेकाहीँ भेटिहाल्छु। उनीहरूको जन्मदिनका दिन बिहानै फोन गरेर ह्याप्पी बर्थडे भन्छु र उपहार पनि दिने गरेकै छु।

तेस्रो, मैले उनीहरूलाई सधैं राख्नेबित्तिकै मेरो दैनिकी बिग्रन्छ। खानेकुरादेखि लिएर अरु धेरै कुरामा परिवर्तन आउँछ। म मेरो व्यक्तिगत स्वतन्त्रता र घरको शान्तपूर्ण वातावरण उनीहरूका कारण भङ्ग गर्न चाहन्नँ।

म उनीहरूलाई माया गर्छु तर उनीहरू सधैं मसँग बसेको भने मलाई मन पर्दैन। आदित्यादि कुराहरूले गर्दा म उनीहरूको जिम्मेवारी लिन चाहन्नँ।

कहिलेकाहीँ आउन मन गरे भने सोधेर आफूलाई मनपर्ने खानेकुरा पनि लिएर आउँछन्, खान्छन् र एकाध घन्टा बसेर जान्छन्। त्यो नै ठीक छ। उनीहरूलाई उनीहरूकै दुनियाँमा रमाउन दिनुपर्छ। उनीहरूले दिन-रात मसँगै बसेर के गर्नु? केटाकेटी र बुढाबुढीको कुरो पनि मिल्दैन। उनीहरूको जस्तो मोबाइलमा नयाँ-नयाँ गेम खेल्न, चलाउन म जान्दिनँ। त्यसैले म उनीहरूको साथी हुन नसक्ने भएपछि उनीहरू म बुढीको साथी भएर सँगै किन बस्नुपर्छ?’

नतालियाका कुराले म दंग परेँ।

उनका दिनचर्याहरूले म हुर्किरहेको परिवेशलाई चुनौती दिएको भान गरायो। म त्यस्तो परिवेशमा हुर्किएकी हुँ जहाँ बुढाबुढीलाई बिचरा बुढाबुढीहरू भनिन्छ। बिचरा मात्र नभनेर साथमा अरु धेरै कुरा पनि जोडिएर आउँछन् जस्तै बुढाबुढीलाई कसरी एक्लै छोड्न सकेका? कस्ता सन्तान होलान् बुढाबुढीलाई एक्लै छोड्ने? बुढेसकालमा पनि सहारा कोही रहेछन्? बुढाबुढीहरूसँग कोही न कोही हुनुपर्छ। बुढाबुढीहरू एक्लै भएँ भने दुःखी हुन्छन्, अभर पर्न सक्छन् आदिइत्यादि।

यही सोचले प्रेरित भएर नै मैले पनि उनलाई नातिनातिना साथी राख्न मिल्दैन भनेर भनेकी थिएँ। तर उनका कुरा सुनिसकेपछि म आफ्नो परिवेशबाट उसको परिवेशमा आएर सोच्न बाध्य भएँ।

आखिर आफ्नो परिवेश, संस्कार अनुरूप नै मानिस बाँचिरहेको हुन्छ। पाश्चात संस्कारमा हुर्कीएकी नतालिया १८ वर्षकी भएपछि नै आफ्ना बाबुआमालाई छोडेर स्वतन्त्र बाँचेकी हुन्। आफू स्वतन्त्र भएका कारणले नै तीन वटा विवाह पनि गरेकी हुन्। अहिले पनि उनी स्वतन्त्रता चाहन्छिन् त्यसैले श्रीमानको मृत्युपश्चात सिंगो घरमा एक्लै बस्दै आइरहेकी छिन्। म हुर्केको परिवेशमा उनी एक्लो वृद्धा, असहाय जीवन बाँच्न विवश दयाकी पात्र ठहर्छिन्।

समाज, आफन्त, इष्टमित्रका लागि बाँच्ने संस्कारमा बानी परेका हामीहरूका लागि उनको जीवनशैली अनौठो लाग्छ।

त्यसैले उनको यो बसाइमा म एक्लोपन मात्र देख्छु। तर उनको भने आफू स्वतन्त्र भएर बाँच्ने संस्कारले आफ्नै नातिनातिनासँगको बसाइभन्दा एक्लोपन नै प्यारो लागेको प्रष्ट देखिन्छ।

आफ्नै छोरीहरूसँग समेत आश्रित हुन नचाएकी उनको स्वतन्त्रतामा, एक्लोपनमा जीवनमा चाहिने सन्तोष भने भरिपूर्ण छ। त्यसैले एक्लो भए पनि बिना कुनै गुनासो सन्तोषपूर्णरूपमा शान्त र शालीन तरिकाले बाँचिरहेकी छन्।

कृत्रिम अक्सिजनको सहारामा रहेको जीवनको उत्तरार्द्ध घरमा एक्लै बसेर पनि सहजरूपमा चलिरहेको छ। स्वतन्त्र भएर एक्लै बस्ने उनको यो निर्णय वास्तवमा उनी बाँचिरहेको परिवेशको, संस्कारको उपज हो। उनी बाँचिरहेको समाजमा घरमा एक्लै छु भनेर डराउनु परेको अवस्था छैन। समाजले केही भन्ला भनेर सोचिरहनु पर्दैन। आत्मनिर्भर भएर बाँच्न पाएकाले कसैसँग केही आश छैन। स्वतन्त्र भएर आफ्नो स्वास्थ्यको ख्याल गर्दै आफूलाई मन लागेको लाउन, खान कसैको अनुमति आवश्यक छैन।

वृद्धभत्ता र पेन्सनका माध्यमबाट प्राप्त हुने मासिक आम्दानीलाई आफैंले स्वतन्त्ररूपमा खर्च गर्न पाएकी छन्। यसका साथसाथै उनको एक्लै बस्ने निर्णयमा राष्ट्रले नागरिकका लागि प्रदान गर्ने सेवा र सुरक्षाको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ।

राष्ट्रले नागरिक सुरक्षाको ग्यारेन्टी दिएका कारण नै उनको स्वतन्त्ररूपमा एक्लै बस्ने चाहना पूरा भएको छ। आर्थिक पक्ष सुदृढ भएकाले गर्दा नै उनको निर्णयले मूर्तरूप पाएको छ।

हप्तामा दुईपटक नर्स घरमा नै आएर उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन्छन्।

जेष्ठ नागरिकले पाउने सुविधा अन्तर्गत नगरपालिकाले घरभित्रको सामान्य सरसफाइ गर्न १५ दिनमा एकपल्ट उनका घरमा मानिस पठाउँछ भने गर्मीको समयमा घर बाहिर बढेको घाँस काट्न र जाडोको समयमा हिउँ पर्नासाथ सफा गर्न सुविधा पनि नगरपालिकाले नै उपलब्ध गराउँदै आएको छ।

यस्तै सुविधा उपयोग गर्न पाउने वातावरण भएकाले नै नतालिया घरमा एक्लै बस्न सकेकी हुन्।

(यो लेख सेतोपाटीमा पहिलोपटक २०७८, असोज ९ गते प्रकाशित थियो)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email