असोज ५ गते नेपाल आइपुग्दै सन्दिप लामिछाने

एक नाबालिकाले ब’ला’त्का’रको आरोप लागाएका क्रिकेटर सन्दीप लामिछाने यहि असोज ५ गते नेपाल फर्किने भएका छन् ।सन्दिप नजिकको श्रोतको अनुसार सन्दीपले आफु माथि लागेको ब’ला’त्का’रको आरोपलाई नेपाल फर्किएर सामाना गर्ने बुझिएको छ ।
केन्याविरुद्ध पाँच टी–२० र तीन एक दिवसीय क्रिकेट खेल्न टोलीको नेतृत्व गर्दै नैरोवी गएका सन्दीपमाथि विदेशी भूमिमै रहेका बेला नेपालबाट ब’ला’त्का’रको ग’म्भीर आरोप लागेको थियो । एकजना नाबालिगले आफूमाथि पटक पटक ब’ला’त्का’र गरेको जाहेरी भदौ २१ गते दिएपछि सन्दीपको ६ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय र व्यवसायिक क्रिकेटको सफल यात्रामा पूर्णविराम लाग्ने अवस्था आएको छ।
भदौ ६ गते देश छाड्नु अघिल्लो रात सन्दीपले सिनामंगलको एक होटलमा पटक पटक ब’ला’त्का’र गरेको ती किशोरीले दिएको जाहेरीमा उल्लेख छ। त्यही उजुरीकै आधारमा भदौ २३ गते प्रहरीले काठमाडौं जिल्ला अदालतमार्फत उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ।
उनलाई नेपाल ओर्लिनेबित्तिकै पक्रन अध्यागमन विभागले पनि उनलाई कालोसूचीमा राखिसकेको छ। सीपीएल खेल्न सेन्ट लुसियामा रहेका सन्दीपले आफू निर्दोष रहेको तर्क गरेका थिए। उनले त्यससँगै कानुनी चुनौती सामना गर्न तयार रहेको पनि बताएका थिए।
उनी फर्किएपछि नाबालिग ब’ला’त्का’रको मुद्दामा उनी पक्राउ परेर छानबिन अघि बढ्छ। उनीमाथि लागेको आरोपको सत्यताको जाँच प्रहरी र सरकारी वकिलले गर्लान्। सन्दीपलाई निर्दोष वा दोषी प्रमाणित गर्ने काम अदालतको हो। यतिबेला उनले करिअर नै सकिने गरी गम्भीर आरोपको सामना गर्नुपरेको छ।
चर्चा र सफलताको शिखरका खेलाडीलाई ब’ला’त्का’र जस्तो गम्भीर आरोप लाग्दा यसले खेल क्षेत्रकै शिर निहुरिएको छ। सन्दीपमाथिको आरोप सुनियोजित भन्नेहरु पनि छन्। कतिपयले आरोप मात्रै नभई प्रमाणित भइसकेको नजरमा पनि हरेका छन्। प्रहरीले अनुसन्धान चलिरहेको र प्रमाण संकलन गरेको जनाएको छ।
कानुनी प्रक्रिया अघि बढेको अवस्थामा घटनाको सत्यतथ्य आउन समय लाग्नेछ। तर, पछिल्लो ६ वर्षमा सन्दीपले बनाएको स्टारडमलाई पछिल्लो आरोपले झण्डै धुलिसात बनाइदिएको छ। खेलाडीका लागि अनुशासन, मिहिनेत, धैर्य औषधि जस्तै हुन्। यो आरोपले सन्दीपले अनुशासनको घेरा तोडेको अनुमान गर्न थालिएको छ।
देशको प्रतिनिधित्व गरेर विदेश यात्रामा निस्कनु पहिलेको घटनाले सम्मान गरिने खेलाडीमाथि शंकाको दृष्टिले हेर्ने अवस्था बनेको छ। सन् २०१८ मा इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्दा अधिकांशले गर्वको महसुस गरेका थिए। सन्दीपकै कारण विश्वका चर्चित व्यवसायिक क्रिकेटमा नेपालको चर्चा हुने गरेको थियो।
आर्थिक हैसियतमा सन्दीप सबैभन्दा सफल खेलाडी हुन्। तर, स्टारडमलाई व्यक्तिगत व्यवहारका कारण एकै रातमा धुलोमा मिल्ने अवस्था पनि बन्न सक्ने सन्दीपमाथिको आरोपबाट बुझ्न सकिन्छ। हरेक नागरिकले आफ्ना गतिविधि कानुनविपरीत छन्, छैनन् भन्ने हेक्का राख्नुपर्ने हुन्छ।
खेलाडीले त झन् त्यसमा बढी सचेत हुनु पर्छ। कारण खेलाडी समाजका आइकन पनि हुन्। सफल खेलाडीलाई हेरेर नै नयाँ पुस्ता खेल क्षेत्रमा प्रवेश गर्न प्रेरित हुन्छ। देशको कानुनसँगै हरेक खेलका आफ्नै नियम र सीमा हुन्छ। त्यसमा पनि खेलाडीले गम्भीरतापूर्वक लिनैपर्ने हुन्छ।
अनुशासनबाहिरको गतिविधिका कारण कतिपय खेलाडीले खेल जीवनमा पूर्णविराम लगाउनुपर्ने अवस्था आउँछ। कतिपय अवस्थामा अपमानित हुनुपरेको छ। कुनै नेपाली खेलाडीमाथि बलात्कार जस्तो गम्भीर आरोप लागेको यो पहिलो पटक हो। यद्यपि खेलाडीहरूमाथि अन्य प्रश्न यसअघि पनि नउठेका होइनन्।
खेल भावनाविपरीत गतिविधिले कतिपयको खेल जीवन नै सकिएको उदाहरण पनि छन्। राष्ट्रिय फुटबल टोलीमा मिलेमतो अभियोग लागेर कप्तान सागर थापासहितका खेलाडीले यसअघि नै खेल जीवनबाट हात धोइसकेका छन्। सागरसँगै सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकास सिंह क्षेत्रीको खेल जीवन सकिएको छ। यद्यपि उनीहरुले नेपालको अदालतबाट सफाइ पाएका छन्।
२०७२ सालमा खेल मिलेमतोको अभियोगमा ५ जनालाई एसियाली फुटबल महासंघ (एएफसी) ले फुटबलमा आजीवन प्रतिबन्ध लगाएको थियो। देशभित्र पनि उनीहरुले लामो कानुनी लडाईँ लड्नु परेको थियो। खेल मिलेमतोविरुद्धको कानुन देशमा नरहेकाले प्रहरीले ५ जनाविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको थियो।
झण्डै तीन वर्ष मुद्दा चलेपछि उनीहरुलाई सर्वोच्च अदालतले राज्यविरुद्धको अपराधबाट सफाइ दिएको थियो। तर, फुटबलमा लागेको प्रतिबन्ध यथावत छ। जसकारण उनीहरुको उचाइमा रहेको खेल जीवनको दुःखद अन्त्य भयो। खेल मिलेमतो वा प्रतिबन्धात्मक औषधि प्रयोग गरेको प्रमाणित भए खेलाडीको जीवनको दुःखद अन्त्यको बढी सम्भावना रहन्छ।
त्यसअघि सन् २००६ मा भएको दशौँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहारो स्वर्ण पदक जितेका एथलेटिक्स खेलाडी राजेन्द्र भण्डारी डोपिङमा परे। जसले उनको खेल जीवनमा ठूलै धक्का पर्यो। उनका स्वर्ण पदक खोसिए भने दुई वर्ष प्रतिबन्धको सामना गर्नुपर्यो। नेपाली खेलकुदमा डोपिङका कारण खेलाडीको पदक खोसिएर प्रतिबन्धमा परेको त्यो पहिलो घटना थियो।
सफल खेलाडीको छवि बनाएका राजेन्द्रलाई लामो समय सर्वजनिक रुपमा निकै चुनौतीको सामना गर्नुपरेको थियो। उनले आफूमाथि लागेको अभियोगमा सत्यता नभएको पटक पटक बताएपछि जाँचबाट आएको प्रमाणका अगाडि उनको भावनाको कुनै अर्थ रहेन। खेल भावनाविपरीत गतिविधि प्रमाणित भएपछि उनीसँग प्रतिबन्ध स्वीकार्नुबाहेक अर्को विकल्प भएन।
तर, उनीसँग २ वर्षपछिको प्रतिबन्धबाट पनि खेलमा फर्कने सम्भावना थियो। सागको ११ औं संस्करणमा उनले रोड रेसमा स्वर्ण पदक जित्दै घाउमा मलहम लगाउने प्रयास गरे। जसकारण उनले खेल जीवनलाई सुखद अन्त्य गर्ने अवसर पाए।
तर, खेल जीवनको २ वर्षे अन्धकारले उनलाई पछ्याइरहन्छ। राजेन्द्र जस्तै दाग मेटाएर सबैले खेल जीवन अन्त्य गर्न पाउन सक्दैनन्। ५ फुटबलरले आफूलाई निर्दोष भने पनि फुटबलको अन्तर्राष्ट्रिय निकायले त्यसलाई अझै स्वीकार गरेको छैन। जसकारण उनीहरुको चम्किलो खेल जीवनको दुःखद अन्त्य भयो।
अहिले सन्दीपमाथि गम्भीर आरोप लगेको छ। आरोप प्रमाणित भए उनको खेल जीवन लगभग टुंगिने अवस्था छ। त्यति मात्रै नभएर उनले जेल जीवन पनि बिताउनुपर्छ। आफ्नै गल्ती कतिसम्म भारी पर्छ भन्ने उदाहरण खेल क्षेत्रका केही उदाहरण पर्याप्त भएका छन्।