News

सन्दीप अन्तर्राष्ट्रिय आतंकबादी हैन, हात धोएर नलागौं : प्रमोद खरेल

राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछानेको विरुद्धमा अन्तर्राष्ट्रिय आतंकवादी जस्तै गरेर धात धोएर नलाग्न गायक प्रमोद खरेलले आग्रह गरेका छन् ।

खरेलले सामाजिक सञ्जाल ट्विटरमा सन्दीपको बारेमा आफ्नो भनाई सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘केहि तत्व (सबै हैन्) हात धोएर लाग्या छन् । कानुनी प्रकिया पुर्‍याएर काम गरे त हुन्छ होला,जे सजाय पाउने हो पाउछ नै यदि दोषी भए। देशको झण्डा छातीमा बोकेको मान्छेलाइ हो हल्ला नगरी आवश्यक कानुनी प्रकियामा जॉदा कसैको केहि बिग्रन्छ र? कि कसो?’

यो समाचार तयार पार्दै गर्दा खरेलले उक्त ट्विट भने डिलिट गरिसकेका छन् ।

गायक प्रमोद खरेलले बुधबार राति गरेको ट्विटको स्किनसट । उक्त ट्विट अहिले खरेलले डिलिट गरेका छन् ।
लामिछाने केही दिनयता प्रहरी र क्यानसँग सम्पर्कविहीन भएपछि उनी कहाँ छन् सर्वत्र चासोको विषय बनिरहेको छ । यस विषयमा केटिएम दैनिकले नेपाल प्रहरीका उच्च तहका अधिकारी, क्यानका पदाधिकारी र सन्दीपका टिम म्यानेजरसँग कुरा गर्दा उनीहरूले सम्पर्कमा नरहेको बताइरहेका छन् ।

एक १७ वर्षीया बालिकाले लामिछानेले आफूलाई पटक पटक जबरजस्ती करणी गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएको समाचार केटिएम दैनिकले ब्रेक गरेको थियो । लामिछानेविरुद्ध जाहेरी परेपछि गत बिहीबार अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ भने उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।

सोमबार नायिका तथा भिजे रीमा विश्वकर्माले पनि सन्दीपलाई कालोसूचीमा राखेकोमा आपत्ति जनाएकी थिइन् । उनले लेखेकी थिइन्, ‘सन्दिप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधिले कुनै पनि हालतमा उनमुक्ति पाऊनु हुदैन।

तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ?’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email