खुसिको खबर – सन्दीप प्रकरण: किशोरी १८ वर्ष पूरा भएको जन्मदर्ता अदालतमा पेस

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने पक्षका कानुन व्यवसायीहरुले पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण इजलास समक्ष पेस गरेका छन् ।बुधबार लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहसका क्रममा उनकातर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले किशोरी नाबालिग नभएको प्रमाण पेस गरेका हुन् । सन्दीपको तर्फबाट आज दुई जना वकिलहरुले बहस गरेका थिए ।
उनीहरु लामिछानेमाथि लगाएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै लामिछानेले सफाई पाउनुपर्ने दाबी गरे । कानुन व्यवसायी मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपलाई धरौटीमा रिहा गरेर मुद्दा पुर्पक्ष गर्न दिइनु पर्ने जिकिर गरेका थिए ।
अधिवक्ता सापकोटाले पीडित भनिएकी किशोरीको जन्मदर्ता, स्कुलमा भर्ना हुँदाका विवरणहरु, बसाइँ-सराइ कागजहरु पेस गरिएको बताए ।किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि इजलास समक्ष पेस गरिएको हो ।
अदालतमा पेस गरिएको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनुसार घटना भएको मितिमा पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको हुन्छ । घटना यसै वर्षको भदौ ६ गते भएको जाहेरीमा उल्लेख गरिएको छ ।
आज पीडित युवतीका तर्फबाट ४ जना सरकारी वकिलले बहस गरेका थिए ।बहसपछि सन्दीपलाई थुनामा राखेर बाँकी मुद्दाको सुनुवाइ अघि बढाउने कि थुनामुक्त गरेर भन्नेबारे इजलासले आदेश दिने छ ।लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।