News

खग्रास चन्द्रग्रहण जारी, मेष राशिलाई अतिकष्ट, कुन राशिलाई कस्तो ?

काठमाडौँ । कार्तिक शुक्ल पूर्णिमाका दिन आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागिरहेको छ । अहिले बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चांगम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको हो
ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाउने व्यवस्था मिलाएको छ।

सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको र अहिले चन्द्रग्रहण हेर्नेको भिड लागेको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए । बेलुकी ०६ः३४ बजे ग्रहण सकिँदै छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । आज बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

यसअघि कात्तिक ८ गते मंगलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चांगम्’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक ढुंगेलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email