Uncategorized

नेताहरुले हेलिकप्टर चढेर पैसा नातिरेपछि, दिक्क भएर उधारोमा हेलिकप्टर चढ्न बन्द !

काठमाडौं। राजनीतिक दलका नेताहरूले निर्वाचन प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोग गर्ने क्रम बढेको छ। विषेशगरी ठूला दलका नेताले देशदौडाहामा हेलिकोप्टर प्रयोग गर्दै आएका छन्। अहिले जति हेलिकोप्टर प्रयोग भएको छ, ती अधिकांश तत्कालै पैसा तिरेर उडिरहेका हुन्।

विगतका निर्वाचनमा नेताहरूले लामो समयसम्म उधारो नतिरेपछि व्यवसायीले योपटक भने पहिला पैसा तिरेरमात्र उडान गर्दै आएका छन्। मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारका लागि पछिल्लो समय हेलिकोप्टर प्रयोग बढेसँगै व्यवसायीले पनि कडिकडाउ गरेका हुन्।

उधारो तिर्न बर्षौं लाग्ने र केही रकम माया मार्नुपर्ने अवस्था आएपछि यो वर्ष कडाइ गरिएको व्यवसायीको भनाइ छ। स्थानीय तह निर्वाचनका बेला पनि हेलिकोप्टर प्रयोगको रकम बक्यौता रहेको व्यवसायीको गुनासो छ। ‘अहिले जति पनि हेलिकोप्टर प्रयोग भएका छन्, ती सबै नगद बुझाएर लडेका हुन्,’ हेली एभरेस्टका प्रबन्ध निर्देशक फूर्वाग्याल्जे शेर्पाले भने।

वायुसेवा सञ्चालक संघका महासचिव तथा फिसटेल एयरका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीले गएको स्थानीय तह निर्वाचनदेखि नै नेताहरूले हेलिकोप्टर प्रयोग गर्दा उधारो नराखेको जानकारी दिए। विगतमा केही दुःख दिएको जानकारी पाए पनि यसपालि निर्वाचनमा भने कुनै समस्या नभएको उनले बताए।

‘सम्भवतः उधारो दिँदैनन् भनेर पनि अहिले नगद नै दिएर उडान गरेको हुनसक्छ,’ महासचिव कार्कीले भने, ‘तर, अहिले दुई घन्टाका लागि भनेर चार घन्टासम्म राखिदिने समस्या भने आएको छ।’ निर्वाचनका बेला नेताहरूले प्रयोग गरेका हेलिकोप्टर भाडा लामो समयसम्म उधारो रहने भएपछि यसपालि उधारो नदिने मौखिक सहमतिसमेत व्यवसायीमाझ भएको छ।

जसका कारण नेताहरूले बुकिङ गरेपछि पैसा तिर्नैपर्ने बाध्यतामा परेका हुन्। हेलिकोप्टर सञ्चालकहरूले आफ्ना कर्मचारीलाई कुनै पनि नेतालाई उधारो नदिन निर्देशन जारी गरेका छन्। त्यस्ता उधारो रकम कर्मचारीबाटै असुल गर्नुपर्ने निर्देशनपछि कर्मचारीहरूले बुकिङ गर्दा नै पहिला पैसा लिने गरेको एक कर्मचारीले जानकारी दिए।

हुन त निर्वाचन आयोगले भड्किलो प्रचार गर्न रोक लगाएको छ। तर, आयोगकै स्वीकृति लिएर भने नेताहरूले हेलिकोप्टर प्रयोग गर्दै आएका छन्। अहिले श्री एयर, सिम्रिक एयर, अल्टिच्युड एयर, कैलाश हेलिकोप्टर, हेली एभरेस्ट, प्रभु हेलिकोप्टर, एयर डाइनेस्टी, माउन्टेन हेलिकोप्टर, फिसटेल एयर, मुस्ताङ र अन्नपूर्ण हेलिकोप्टरले उडान गर्दै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email