डडेलधुरामा सागर ढकाल र देउवाको कडा टक्कर को अगाडी छन् ?

डडेलधुरा । पाँचवर्ष अगाडि एउटा टेलिभिजन कार्यक्रममा गुल्मीका युवा सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दा हप्की खाए । उनै ढकाल देउवाविरुद्व उमेदवारी घोषणा गर्दै चार महिना अगाडि डडेलधुरा आए । देउवाविरुद्व चुनाव लड्दा ढकालले सय मत पनि कटाउँदैनन् भन्ने सुरुवाती आकलन धेरैको थियो ।
निर्वाचनको दुई साता अगाडिसम्म ढकालले दुई हजारसम्म मत पुर्याउन सक्छन् भन्ने आकलन डडेलधुराका नेताहरुको थियो ।“निर्वाचनको मौन अवधि सुरु हुँदासम्म दुई हजारको आँकडा बढेर ५ हजारसम्म पुग्यो,” डडेलधुरा कांग्रेसका एक नेता भन्छन्, “तर आइतबार भएको मतदानपछि ढकालले कसैले नसोचेको मत ल्याउने आकलन गर्न थालिएको छ ।”
डडेलधुराबाट प्रतिनिधि सभामा स्वतन्त्र उमेदवारी दिएका एमाले नेता विक्रमबहादुर शाही पनि ढकालले अस्वाभाविक मत ल्याउने आफ्नो आकलन रहेको बताउँछन् ।“आइतबार भएको मतदानमा ढकालको क्रेज निकै पाइयो,” उनले भने, “उनले १०–१२ हजार मत कटाउन सक्ने मेरो आकलन छ ।”
उनका अनुसार निर्वाचनमा जित भने शेरबहादुर देउवाको नै हुन सक्छ । पत्रकार डीआर पन्त पनि स्वतन्त्र उमेदवार ढकालले राम्रो मत पाउने आकलन गर्छन् ।“सागरले जति मत ल्याउन सक्छन्, त्यो उनको लोकप्रियता होइन,” पन्तले भने, “त्यो दलका नेताहरुको अकर्मन्यताको प्रतीक हो । नेताहरू अझै सुध्रिन सकेनन् भने जेलनेल भोगेर ल्याएको लोकतन्त्र चाहिँ निश्चित पनि धरापमा पर्न सक्छ ।”
उनका अनुसार विदेशमा रहेका युवाहरुले सागरको मत बढाएका छन् । “रोजगारीका लागि विदेशमा रहेका युवाहरुले आफ्ना परिवारका सदस्यलाई सागरको पक्षमा मतदान गर्न लगाएको देखिन्छ,” उनले भने, “डडेलधुरामा एमाले उमेदवार नभएकाले एमाले भोट पनि उनलाई नै गएको अनुमान छ । त्यस्तै, भित्री मधेस (परशुराम र आलिताल गाउँपालिका) मा बीपी कांग्रेसका उमेदवार कर्ण मल्लका समर्थकले पनि सागरलाई सहयोग गरेको देखिन्छ ।”
डडेलधुरामा यसपटक देउवालाई रेकर्ड मतका साथ विजयी गराउने दाबी नेपाली कांग्रेस र गठबन्धनमा रहेको माओवादी केन्द्रका नेताहरुले गर्दै आएका थिए ।“प्रधानमन्त्री देउवाको जित हुने त लगभग निश्चिन छ,” माओवादी केन्द्रका एक नेता भन्छन्, “तर, हामीले सोचेको जस्तो रेकर्ड मत ल्याउन भने सकिदैन जस्तो छ ।”
खसेको मत मध्ये ५० देखि ६० प्रतिशत देउवा, २० देखि ३० प्रतिशत ढकाल र बाँकी अन्यले ल्याउने चर्चा जिल्लामा छ ।मतगणना गर्न सर्वदलीय बैठकएउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा ९१ हजार २०१ मतदाता थिए । आइतबार भएको मतदानमा ५१ हजार ६६० अर्थात् ५६.६४ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको परशुराम नगरपालिकाका मतपेटिका अझै जिल्ला सदरमुकाम पुर्याउन बाँकी छ ।“अबको केही समयपछि सबै क्षेत्रको मतपेटिका मतगणनास्थलमा संकलनको काम सकिन्छ,” मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले भने, “११ बजे सर्वदलिय बैठक बोलाएका छौं । त्यसको केही समयपछि मतगणना सुरु हुन्छ ।”
उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतलाई मतगणनास्थल तोकिएको छ । मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्दै सुरक्षा व्यवस्था पनि कडा पारिएको मुख्य निर्वाचन अधिकृत वाग्लेले बताए ।
Post Views: 834