अब ओलीको समर्थनमा रवि लामिछाने प्रधानमन्त्री

काठमाडौँ । देशभरको मत परिणाम आउने क्रम जारी छ । अबको राजनीतिक शक्ति संरचना कस्तो बन्छ भन्ने लगभग स्पष्ट भइसकेको छ । गठबन्धनका बाबजुद कांग्रेसले अपेक्षित शक्ति बढाउन सक्ने देखिएको छ भने एमाले र माओवादीले पनि केही गुमाउने संकेत देखापरिसकेका छन् ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी देशको तेस्रो ठूलो शक्ति बनेर उदाउँदै छ । लामिछानेकै विचारसँग मिल्ने पूर्वपञ्चहरुको दल राप्रपाले गतिलै पुनरागमन गर्दै छ ।२०७४ सालको आम निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३३.२५ प्रतिशत मत ल्याएर ४१ सिट प्रत्यक्षमा पाएको थियो भने कांग्रेसले ३२.७८ प्रतिशत मत ल्याएर ४० सिट पाएको थियो ।
माओवादीले १४ प्रतिशत मत ल्याउँदा १७ सिट हात पारेको थियो । एमालेसँगको गठबन्धन उसलाई निकै फापेको थियो । प्रत्यक्षमा कांग्रेसभन्दा बढी सिट ल्याएर ५३ सांसदसहित संसदमा उसको बलियो उपस्थिति भएको थियो ।कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर जम्मा ६३ सदस्यीय दल बनेको थियो । जबकि एमालेले प्रत्यक्षमा ८० सिट जितेर १ सय २१ सांसदसहित संसदको झण्डै बहुमतनजिकको पार्टी बन्न पुगेको थियो । उसलाई बहुमत पुर्याउन जम्मा १७ सिट अपुग हुन्थ्यो र त्यो संख्या राजपा वा संघीय समाजवादीमध्ये कुनै एकसँग मात्र मिल्दा पुग्थ्यो ।
तर सत्ताबाट एक इन्च पनि पर बस्न नसक्ने लत लागिसकेका प्रचण्डले ओलीको ओत छाड्ने कुरै थिएन । त्यसमाथि ओलीको स्वास्थ्य कमजोर बन्दै गएको आकलन गरी उनले पार्टी नै मिलाएर आफूसमेत अध्यक्ष बन्ने रणनीतिमा फाइदा देखे । दुई अध्यक्ष भएको पार्टीमा ओलीको स्वास्थ्य खस्किँदै जाँदा आफू निर्विकल्प अध्यक्ष र प्रधानमन्त्री बन्ने सपना प्रचण्डले देखेका थिए । ओलीको स्वास्थ्य चामत्कारिक रुपमा सुधार हुँदै गएपछि प्रचण्डको छटपटाहट बढ्यो । एमालेभित्रैका असन्तुष्ट नेताहरुको साथ लिएर ओलीविरुद्ध कू गर्ने प्रयासमा लागे । अन्ततः कू असफल भयो । अदालतले पार्टी एकता नै बदर गरिदियो र प्रचण्ड आफै अलग्गिन बाध्य भए ।
त्यसपछि प्रचण्ड शेरबहादुर देउवाको निवास बूढानीलकण्ठतिर धाउन थाले । सत्ताको रसस्वादनका लागि उनको यो कसरत फलदायी भयो । गएको स्थानीय तह निर्वाचनमा गठबन्धनबाट गणितीय लाभ लिन सफल भए । तर आम निर्वाचनमा कांग्रेस नेता तथा कार्यकर्ताले माओवादीलाई छानीछानी बहिष्कार गरे । कांग्रेस, माओवादीसहित सत्ता राजनीतिमा यसअघि ढलीमली गरेका सबैजसो दलको मत खोसेर संसदमा तेस्रो ठूलो शक्ति बनेर राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुँदै छ । उसले अहिलेकै दर कायम राखी १५ प्रतिशत मत सुरक्षित गरेमा करिब १७ सिट समानुपातिकबाट पाउनेछ । हालसमम्म उसले अग्रता लिएका १० वटै सिट प्रत्यक्षबाट जितेमा २७ सिटसहित संसदको तेस्रो ठूलो शक्ति अब स्वतन्त्र पार्टी हुनेछ । यस्तै पूर्वपञ्चहरुको दल राप्रपाले पनि यसपालि राम्रैसँग पुनरागमन गर्ने देखिएको छ । राप्रपाले प्रत्यक्षबाट ५ र समानुपातिकबाट १० सिट ल्याए पनि संसदमा उसका १५ सांसद हुनेछन् ।
माओवादीले समानुपातिकबाट १३ र प्रत्यक्षबाट पनि बढीमा त्यति नै सिट ल्याउन सक्छ । सत्ता गठबन्धनकै अर्को घटक एकीकृत समाजवादीका १० सांसद पनि संसदमा पुग्न मुस्किल छ । किनभने उसले समानुपातिकमा ३ प्रतिशत मत कटाएर समानुपातिकतर्फबाट संसदमा सिट पाउने सम्भावना क्षीण बनेको छ । प्रत्यक्षतर्फ ९ सिटमा अग्रता हासिल गरिरहेको छ ।
समानुपातिकबाट स्वतन्त्र पार्टी, राप्रपा र माओवादी गरी यी ३ वटा पार्टीको भागमा ४० सिट परेमा बाँकी ७० सिट रहन्छन् । यी सिट एमाले र कांग्रेसले आधाआधा बाँड्नेछन् । यसरी हेर्दा समानुपातिकमा कांग्रेस र एमालेले गत वर्षभन्दा ५-५ सिट गुमाएर ३५-३५ सिट पाउने देखिन्छ ।यो सबै हिसाब गर्दा कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँग मात्र मिलेर सरकार गठन गर्ने हैसियत बनाउन मुस्किल छ । यी तीन दल मिलेर सरकार बनाउनका लागि कांग्रेसले प्रत्यक्षमा मात्र ६७ जित्नुपर्ने हुन्छ । अहिलेको प्रवृत्ति हेर्दा उसले प्रत्यक्षमा ६० सिट जित्न पनि कठिन छ ।
अब अर्को समीकरण हेरौँ ।
कांग्रेसले पाँच दलसँग गरेको गठबन्धन र एमालेले एक्लै लडेर ल्याएको प्रदर्शन हेर्ने हो भने अहिले पनि यो देशमा सबैभन्दा बलियो शक्ति एमाले नै हो भन्नेमा कुनै दुविधा छैन । प्रत्यक्षमा उसले लिएको अग्रता कांग्रेसको भन्दा धेरै अन्तर छैन । कांग्रेसले ६० सिट जित्दा एमालेले ५० सिट सजिलै जित्ने देखिन्छ । समानुपातिकसमेत जोड्दा कांग्रेसकै हाराहारीको शक्ति बन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अब कांग्रेस र माओवादीलाई सत्ताबाहिर राख्न रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न सक्नेछन् । यति भएपछि लामिछानेको महत्त्वाकांक्षाका लागि अरु के चाहियो र ? एमाले, स्वतन्त्र पार्टी, राप्रपा, लौरो अभियान र अरु केही गैरदलीय सांसदलाई साथ लिएर लामिछाने सरकार बनाउन सक्नेछन् । यसमा जसपासमेत मिसिँदा सरकार बनाउनका लागि एउटा सहज गठबन्धन बन्न सक्नेछ ।
एउटै दलको बहुमत आउन नसक्दा प्रायः दोस्रो र तेस्रो शक्ति मिलेर सरकार बनाउने स्थापित प्रचलन पनि छ । त्यसकारण पनि रवि लामिछाने स्वाभाविकरुपमा प्रधानमन्त्रीका दाबेदार बन्न सक्ने देखिन्छ । अझ एमाले अध्यक्ष ओली केही समययता युवालाई प्रभावित पार्न लागिपरेका कारण पनि सके लामिछानेलाई आफ्नै पार्टीमा भित्र्याउनेछन्, त्यो नभए रणनीतिक साझेदारीका लागि हात बढाउनेछन् । तसर्थ अबको सरकार रवि लामिछानेको सरकार हुनेछ । जुन जनताले चाहेको परिवर्तन वा नयाँपनलाई पनि सम्बोधन गर्नेछ ।