दुवै टेक्ने खुट्टा छैनन् आफ्नै संघर्षले अहिले यती ठुलो ठाउँमा पुगिन् कृष्णा थापा !

दशक पुग्यो, उनको यात्राको साथी भनेकै ह्विलचियर हो । व्यास–१० दुम्सीकोटकी ३२ वर्षीया कृष्णा थापाको २०६१ सालअघि दैनिकी अर्कै थियो । दुम्सिकोटस्थित भानु माध्यमिक विद्यालयमा कक्षा ८ को परीक्षापछि उनको दैनिकी फेरियो ।
‘एक दिन अचानक दाइने खुट्टा झमझमायो । खुट्टाले कुनै महसुस गर्न छाड्यो,’ कृष्णाले भनिन् । २२ दिनसम्म पनि कारण पत्ता नलागेको बरु अवस्था झनै बिग्रिँदै गयो । आफ्नै खुट्टाले टेकेर अस्पताल गएकी कृष्णा बुबाको काखमा घर फर्किइन् ।
पछि दुवै खुट्टाले काम गर्न छाडिसकेपछि उनी ३ महिनासम्म काठमाडौं गइन् । ‘यत्तिका समयमा पनि के कारणले खुट्टामा समस्या आयो भन्ने थाहा नभएपछि निराश भएँ,’ उनले भनिन्, ‘पटकपटक अस्पताल धाउँदा पनि समस्या पत्ता नलागेपछि डिप्रेसनमा पुगे । मर्छु भन्नेसम्म पुगेकी थिएँ ।’
काठमाडौंबाट घर फर्किएपछि उनको अवस्था गम्भीर भयो । ‘दुवै खुट्टा चल्दैनथ्यो । म बेडमै थन्किएर बस्नुपर्यो,’ उनले भनिन्, ‘त्यो समय घरपरिवार र गाउँले जम्मा भएर यो कतिखेर मर्ने हो कतिखेर फाल्ने हो भनेर बस्नुहुन्थ्यो ।’ २०६२ मै रिसेट तनहुँ नामक संस्थाले पोखराको हरियोखर्क अस्पताल लग्यो ।
उक्त समयमा कम्मरमुनिको भागको अपरेसन भयो । २०६२ चैतमा उनले मेरुदण्डको नसा च्यापिएको कारण खुट्टा नचलेको खुल्यो । त्यसपछिको कृष्णाको दिनचर्या बेडमै बित्न थाल्यो ।
अरुको सहारामा बाँच्नुपर्दा आफैंलाई देखेर दिक्क लाग्ने गरेको बताउँछिन् । ८ वर्ष घरपरिवारकै स्याहारसुसारमा बसेको उनले बताइन् । त्यो ८ वर्षको समयमा आफैंलाई मार्ने कैयौं प्रयास गरेको उनले सुनाइन् । २०६९ फागुनमा काठमाडौं लगेर जोर्नीको ३ वटा अपरेसन भयो । त्यसपछि भने उनी बिस्तारै ह्विलचियरमा बस्न थालिन् ।
३/४ महिना ह्विलचियरमा अडिएर बस्न र चलाउन सिक्नमै लाग्यो । पढाइमा रुचि रहेका कारण ८ वर्ष ओछ्यानमै हुँदा पनि उनले विभिन्न पुस्तक पढ्ने र रेडियो सुन्ने गर्थिन् । ह्विलचियर चलाउन सिकेलगत्तै कक्षा ९ मा भर्ना भइन् र २०७० मा एसएलसी उत्तीर्ण गरिन् ।