News

एमालेको सरकार आएपछि बालेनलाई थानकोट कटाउने हो ढुक्क भए हुन्छ: महेश बस्नेत (भिडियो सहित )

एमाले सांसद महेश बस्नेतले काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह नलगाउने हो भने नेपाली कांग्रेस र एमालेका नेताको घरमा आगो लगाउने बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बस्नेतले बालेनको गतिविधि एमाले र कांग्रेसविरुद्ध केन्द्रित रहेको बताए ।

मानिसले जीवनभरको कमाइले बनाएको घरमा डोजर लगाउँदै हिंडेर बालेनले लाखौं मानिसलाई बिचल्ली पारेको टिप्पणी गरे । बस्नेतले पुराना मापदण्डका आधारमा बनेका सम्पदा बस्तीका घरमा भूकम्पपछि बनेको नयाँ मापदण्डअनुसारको पार्किङ नराखेको बहानामा भत्काउन नपाइने तर्क गरे ।

भत्काउने हो भने पूर्वसूचना दिएर विकल्प वा क्षतिपूर्तिसहित मात्र भत्काउनुपर्ने उनले स्पष्ट गरे । ‘कसैलाई लहड चल्यो भन्दैमा डोजर चलाएर ड्याङकीड्याङ घर भत्काउन पाइँदैन । त्यहाँ लाखौं मान्छेको रोजगारी जोडिएको छ । लाखौं मान्छेहरुको जीवन जोडिएको छ’, बस्नेतले भने । सपनामा घर भत्किएको देख्दासमेत अनिष्ट हुन्छ भन्ने मान्यता रहेको नेपाली समाजमा हिरो भन्नका लागि बिपनामै घर भत्काइनु निन्दनीय भएको बताए ।

उनले कतिपय एमाले कार्यकर्ताले आफूले बालेनको अराजकताको विरुद्ध मुख खोल्दा त्यसो नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको बताए । अहिले आफूले बोलेका कुरा मन नपराउनेले कुनै बेला आफ्नो घरमा डोजर चलेपछि कुरा बुझ्ने बस्नेतले बताए ।

‘सोसल मिडिया र मिडिया हेरेर हाम्रा केही साथीहरु बहकिएको देख्छु । दाई यो विषयमा त नबालेको भए भए हुन्थ्यो नि । जब तपाईंको घर भत्किन्छ त्यतिखेर तपाईंले दाईलाई खोज्नुहुन्छ । अहिले दाईले बोलेको कुरा तपाईंलाई मन नपरेको होला । तपाईंको घर भत्किन्छ यदि यही पाराले जाने हो भने ।’

जीवन भरको कमाई लगाएर बनाएको घर भत्किएको कसैले पनि हेर्न नचाहने उनको भनाइ छ । यस्ता तत्वलाई समयमै तह लगाउनुपर्ने भन्दै बस्नेतले बालेनजस्तालाई बेलैमा तह लगाउन नसके कुनै दिन काँग्रेस र एमालेको घरमा आगो लगाउने दाबी गरे । ‘भोलि ह्वारह्वार्ती आगो बल्छ । यीनीहरु कांग्रेसका नेताको घर जलाउन जानेछन् । एमालेका नेताको घर जलाउन जानेछन्’, उनले भने ।

बस्नेतले कमजोर साइबर कानूनको फाइदा उठाएर बालेन समूहले सामाजिक सञ्जालमा नेताहरुलाई कुकुरको माला लगाइदिएको पोष्टहरु राखेको उल्लेख गरे । एमालेको सरकार बनेपछि त्यस्ता कुराको एकएक हिसाब गरेर साइबर लमार्फत जेल पठाउने चेतावनी उनले दिए ।

यीनीहरुले अनेक खालका विकृति फैलाएका छन् । विशेष गरी काँग्रेस र एमालेका नेताहरुमाथि यीनीहरु केन्द्ति छन् । यो सबै टुलुटुलु हेरेर बसेर कोही कांग्रेस र एमाले बन्छ भने त्यो काँग्रेस र एमाले हुँदैन’, उनले भने, ‘राजनीतिक व्यवस्थामा मेरो पार्टी ठीक हो । तिम्रो पार्टी बेठीक हो भन्ने हिम्मत हामीसँग हुनुपर्छ ।’

काठमाण्डू महानगरले एमाले कार्यकर्ता विराज शर्माद्वारा नयाँबानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि बस्नेतले मेयर बालेनविरुद्ध सामाजिक सञ्जालमा घम्कीपूर्ण पोष्ट गर्दै आएका छन् ! भिडियो हेर्नुस:

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email